
लसुन (Allium sativum अथवा Garlic) Alliaceae परिवारमा पर्ने प्याज प्रजातिको मसला हो। यसको नजिकका अरू प्रजातिहरू प्याज, छ्यापी आदि हुन् । परापूर्वकालदेखि नै लसुन पकवान र औषधिको रूपमा प्रयोग हुदै आएको छ. लसुनका पोटिहरू मिलेर बनेको दानो यसको बिरुवाको सबैभन्दा बढी प्रयोग हुने भाग हो भने पातसमेत प्रयोग हुन्छ। एक पोटि मात्र फाल्ने लसुन बाहेक अरु लसुनका दानामा धेरै पोटिहरू हुन्छन। पोटिहरू काँचो वा पकाएर खाइन्छ वा औषधिको रूपमा प्रयोग गरिन्छ। यसको स्वाद पर्पर्याउने (pungent) हुन्छ तर जब पकाइन्छ यो केही गुलियो र स्वादिलो हुँदै जान्छ यसको पात, जमिनमुनि रहेको काण्ड(पोटी) र फूल पनि खान योग्य हुन्छ । लसुनमा एन्टिअक्सिडेन्ट पाईने हुनाले यो निकै लाभदायक छ।
लसुनमा औषधीय गुण हुन्छ । त्यसैले यसलाई घरायासी औषधिको रूपमा प्रयोग समेत गर्ने गरिएको छ । आयुर्वेदमा लसुनलाई जवान बनाइराख्ने औषधिको रूपमा लिइन्छ र जोर्नीको दुखाई कम गर्ने औषधिको रूपमा पनि लसुनलाई नै लिइन्छ ।
यसरी परम्परागत घरेलु औषधिको रूपमा तथा आयुर्वेदिक औषधिको रूपमा प्रयोग हुदै आएको लसुनमा औषधीय गुण हुन्छ भन्ने कुरा एलोप्याथिक विशेषज्ञहरू पनि मान्दछन् । यसै कारणले गर्दा चिकित्सकहरूले विरामीलाई सन्तुलित भोजनको बारेमा सल्लाह दिँदा खानामा लसनुको प्रयोग फाइदाजनक हुने सल्लाह दिन्छन् । यहाँ हामीले लसुन खाँदा के-के फाइदा हुन्छ भन्ने विषय प्रस्तुत गरेका छौँ:
लसुन सेवन गर्दा सरीरमा भिटामिन ए, बी तथा सी का साथै आयोडिन, आइरन, पोटासियम, क्याल्सियम तथा म्याग्नेसियम जस्ता खनिज तत्वहरू समेत प्राप्त हुन्छ । कोलेस्टेरोलको समस्याबाट पीडित मानिसहरूका लागि लसुन संजिवनी बुटी सरह नै हुन्छ भन्दा फरक नपर्ला । दिनहुँ लसुनको सेवन गर्दा रगतको कोलेस्टेरोल मात्रा १२ प्रतिशत सम्मले कम हुन्छ । लसुनले नशाभित्रै रगत जम्ने तथा बाक्लो रगत हुने समस्याबाट पीडित हरूका लागि समेत निकै फाइदाजनक हुन्छ । यसले रगत पातलो बनाउने र रक्त प्रवाह सूचारु गर्नमा मद्दत गर्छ ।
दमका रोगीहरूका लागि समेत लसुन औषधि नै हो । ३० मिलीलिटर दुधमा लसुनका पाँच केश्रा उमालेर दिनहुँ खानाले सुरुवाती अवस्थाका दमका रोगीलाई निकै फाइदा पुग्छ । अदुवा मिसाएको चियामा लसुनका केश्रा मिसाएर खानाले पनि दमका रोगीलाई फाइदा गर्छ । साथै क्षयरोगीका लागि समेत लसुनको सेवन फाइदाजनक हुन्छ । लसुनमा एन्टिबायोटिक औषधि जस्तै गुण हुने र यो किटाणुनासक हुने भएकाले यसले क्षयरोगका किटाणुलाई समेत नष्ट गर्ने बताइन्छ ।
सरस्यौँको तेलमा लसुन पकाएर उक्त मिश्रणले मालिस गर्नाले सरीरको विभिन्न भागको दुखाइ कम हुन्छ । लसुनमा भिटामिन सी हुने हुनाले यसले स्कर्भी नामक रोगबाट समेत बचाउँछ । लसुनले कब्जियतको समस्या पनि टाडा भागाईदिन्छ । सुन्निएको, जोर्नी दुख्ने, खोकी जस्ता समस्याको उपचारमा पनि लसुन लाभदायी हुन्छ । चिसोका कारण अपच भएर पेट ढाडिएको छ भने लसुन पोलेर खानुहोस् त्यसले चिसो र अपच हटाइदिन्छ ।
| वैज्ञानिक वर्गीकरण | |
|---|---|
| जगत: | Plantae |
| (श्रेणीविहीन): | Angiosperms |
| (श्रेणीविहीन): | एकदलीय वनस्पती |
| गण: | Asparagales |
| परिवार: | Alliaceae |
| उपकुल: | Allioideae |
| कुल: | Allieae |
| वंश: | Allium |
| प्रजाति: | A. sativum |
| वैज्ञानिक नाम | |
| Allium sativum | |